विभिन्न नदी तथा खोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ ।  देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरा तह नजिक पुगेको र बाढीको जोखिम बढेको छ । त्यहाँ डुबान भइरहने ठाउँका नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कालीगण्डकी नदीमा पर्वतको मोदीबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ । म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैगरी, वाणगंगा खोलामा पनि बाढी बढिरहेको र अझै बढ्दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

गएराति बुटवलको तिनाउ नदी जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको थियो । बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय ठाउँ र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकीसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस ठाउँमा सतर्कता अपनाइएको छ ।

रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् ।

बाढीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।