बिए चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई मदन भण्डारी मेमोरियल कलेजको बधाई तथा सम्मान
सुनील पौडेल, काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिए चौथो वर्षको वार्षिक परीक्षामा उत्तीर्ण आफ्ना विद्यार्थीलाई आज कलेजमा आयोजित एक विशेष संक्षिप्त कार्यक्रमबीच बधाई तथा शुभकामना प्रदान गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित बिए चौथो वर्ष २०८२ को नतिजा अनुसार मदन भण्डारी मेमोरियल कलेजबाट सहभागीमध्ये ८३. ७२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीलाई कलेजमै उच्च शिक्षा निरन्तरता दिँदै एमए तहको अध्ययनमा सहभागी हुन कलेजले आग्रह पनि गरेको छ ।
कलेजमा आज आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी, सहायक क्याम्पस प्रमुख डा. तारा प्रसाद गौतम, प्राचार्य कमल न्यौपाने, अनुसन्धान व्यवस्थापन समितिका सदस्य-सचिव डा. प्रमोदराज उपाध्याय, बिए कार्यक्रम प्रमुख गणेश कुमार बस्नेतसहित विभिन्न विषय तथा विभागका शिक्षक–कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले स्नातक तह पूरा गर्नु विद्यार्थीको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अबको चरणमा उच्च शिक्षा, अनुसन्धान, व्यावसायिक सिप र सामाजिक जिम्मेवारीतर्फ अघि बढ्न आग्रह गर्नुभयो । एमबिएमसी मै एमए तहको अध्ययनका लागि निरन्तरता दिन सकिने वातावरणबारेसमेत विद्यार्थीलाई जानकारी गराइएको थियो ।
क्याम्पस प्रमुख डा. अधिकारीले नतिजाप्रति खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक तथा कलेज परिवारको सामूहिक प्रयासबाट राम्रो शैक्षिक उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले अघिल्ला दुई वर्षझैँ यस वर्ष पनि एमबिएमसीका विद्यार्थीले नै त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामुदायिक क्याम्पसहरुमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने अपेक्षा पूरा भएकोमा खुशी व्यक्त गर्दै कलेजका धेरै विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अङ्क हासिल गरेकोमा आफूलाई अत्यन्तै गर्व लागेको विचार व्यक्त गर्नुभयो । डा. अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै भन्नुभयो, “बिए चौथो वर्षका विद्यार्थीले हासिल गरेको यो नतिजाले हामीलाई पहिलेभन्दा पनि थप बढी उत्साहित बनाएको छ । विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र कलेजको शैक्षिक वातावरणको परिणामस्वरूप यस्तो उपलब्धि सम्भव भएको हो । अघिल्ला दुई वर्षको राम्रो प्रदर्शनलाई निरन्तरता दिँदै यस वर्ष पनि एमबिएमसी उत्कृष्ट नतिजा हासिल गर्ने दिशामा अघि बढिरहेको छ । उत्तीर्ण विद्यार्थीलाई यही कलेजमा एमए तहको अध्ययन जारी राख्न म हार्दिक आग्रह गर्दछु । त्यसका लागि आवश्यक सम्पूर्ण वातावरण तयार गर्न म आजैदेखि लाग्छु र सबै साथीहरुलाई पनि यसमा साथ दिन अनुरोध गर्दछु ।”
कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख डा. तारा प्रसाद गौतमले “यस किसिमको नतिजाका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैले जे-जति मेहनत गर्नुभएको छ, त्यसप्रति म सबैलाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्दछु ।”
उत्तीर्ण विद्यार्थीहरुका तर्फबाट आफ्नो धारणा राख्दै निश्चिता जर्गा मगरले स्नातक तह पूरा गर्नु आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि भएको र कलेजले दिएको शैक्षिक वातावरण र शिक्षकहरूको निरन्तर सहयोगले अघि बढ्न प्रेरणा दिएको बताउनुभयो । “अघि सबै साथीहरुसँग कुरा हुँदा अब मदन भण्डारी कलेजमै हाम्रो एमए तहको उच्च शिक्षा अगाडि बढाउने सल्लाह भएको छ” भन्दै उहाँले सबै विद्यार्थीलाई आफ्नो शैक्षिक र पेसागत यात्रामा थप मेहनतका साथ अगाडि बढ्न मदन भण्डारी मेमोरियल कलेज र यहाँका शिक्षकहरु सदैव मार्गदर्शक बन्ने विश्वस राख्नुभयो । कार्यक्रममा उपस्थित सबै विद्यार्थीहरुले सामूहिक छलफल गर्दै आफूहरु मदन भण्डारी कलेज परिवारप्रति सदा ऋणी रहने र यसै कलेजमा एमए अध्ययन गरी अहिलेको भन्दा अझ उत्कृष्ट नतिजा ल्याएर उक्त ऋण चुक्ता गर्ने कोसिस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
शिक्षकहरुका तर्फबाट अंग्रेजी विभाग प्रमुख शोभाकर भण्डारीले विद्यार्थीको नतिजा केवल परीक्षाको अङ्क होइन, उनीहरूले चार वर्षमा हासिल गरेको ज्ञान, सिप र आत्मविश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्दै भन्नुभयो, “उत्तीर्ण विद्यार्थीलाई आगामी अध्ययनमा निरन्तरता दिन र आफ्नो रुचिको क्षेत्रमा अनुसन्धान तथा व्यावसायिक क्षमता विकास गर्न हामी प्रोत्साहित गर्दछौँ ।”
सामान्य औपचारिक कार्यक्रमपछि सबै सहभागीहरुले केक काटेर मिठाई तथा चिया-खाजा खाँदै एक आपसमा खुशी साटासाट गरिएको थियो ।

