ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द

एजेन्सी । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ ।

सुरक्षा जोखिम बढेपछि साउदीले महत्त्वपूर्ण तेल पूर्वाधारअन्तर्गतको ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो । साउदी अधिकारीहरूका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ ।

आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ । इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।

आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाब सिर्जना गर्नु रहेको देखिन्छ । पछिल्लो समय इरानसँगको द्वन्द्व, होर्मुज जलडमरूमध्यमा बढेको तनाव तथा यमनमा इरानसमर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाब बढेको छ ।

ईस्ट–वेस्ट पाइपलाइनले होर्मुज जलडमरूमध्यको जोखिम छल्दै साउदी तेललाई लाल सागरतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई निशाना बनाउनु साउदीको तेल निर्यातमा असर पार्ने उद्देश्यसँग जोडिएको विश्लेषण गरिएको छ ।

साउदी अरबमाथि भएको आक्रमणको यूएई, बहराइन, ओमान, कतार र कुवेतका प्रतिनिधि सम्मिलित गल्फ कोअपरेसन काउन्सिलले निन्दा गरेको छ । काउन्सिलका महासचिव जसेम मोहम्मद अल्बुदाइवीले यसले द्वन्द्वको खतरनाक विस्तारको संकेत गरेको बताउनुभएको छ ।

अरब प्रायद्वीपका दुवै छेउमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढेको छ । कच्चा तेलको मूल्य जुलाईपछि पहिलोपटक प्रतिब्यारेल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।