बाढी पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)
काठमाण्डौ । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
नेपाल प्रहरी तथा सडक विभागको अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशको पाँचथरफालेलुङ गाउँपालिका–८ आकाशभञ्ज्याङस्थित फिदिम–फालोट सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।
यस्तै, बागमती प्रदेशको काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। १० टनसम्मका मालवाहक सवारी साधनहरू साँझ १९ः ०० बजेदेखि बिहान ०५ः०० बजेसम्म र सानारसार्वजनिक यात्रुवाहक सवारी साधनहरू बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाटो नहुँदा त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक सडक पूर्ण रूपमा अवरुद्ध छ। बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प रहेका छन्।
यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घण्टेखोलामा बाढी–पहिरोको जोखिमका कारण टोखा–छहरे सडक खण्डमा रातिको समयमा (राति २२ः०० देखि बिहान ०५ः०० बजेसम्म) सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको विदुर नगरपालिका–१० सिमटारमा बाटो पूर्ण रूपमा अवरुद्ध हुँदा पासाङ ल्हामु सडक खण्ड बन्द छ।
यसैगरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पहिरो जाँदा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। बेनिघाट रोराङ–१० ज्वाङखोला र शितलबजार क्षेत्रमा पहिरो पन्छाएर बाटो एकतर्फी सुचारु गरिएको छ।
यस्तै, चितवनको तुइनखोला क्षेत्रमा मर्मत कार्य जारी रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा गाडीको चाप अनुसार एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घण्टेखोलामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
यस्तै, गण्डकी प्रदेशअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक निर्माण कार्य भइरहेकाले भदौ २७ गतेसम्म चामे–बेसिशहर सडक खण्डमा साना सवारी साधन र २८ गते बिहान १०ः०० बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस क्षेत्रमा कुनै वैकल्पिक मार्ग उपलब्ध छैन।
प्रहरीले पहिरो हटाउने र सडक खुलाउने कार्य निरन्तर जारी रहेकाले यात्रामा निस्कनु अघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सडक विभागसँग सम्पर्क गरी बाटोको अवस्था बुझ्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


