भारतमा भोलिदेखि शुरु हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति पनि सहभागी हुने

काठमाण्डौ ।  भारतले १८ औँ ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तनविरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ ।

भोलिदेखि भारतको नयाँदिल्लीमा शुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो ।

ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज, प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धताभन्दा व्यवहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

ब्रिक्स उदीयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तरसरकारी समूह हो । अहिले ब्रिक्समा ११ सदस्य राष्ट्र छन् ।