बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ।
आज एक शोक सन्देश मार्फत भण्डारीले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
उहाँले बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको उल्लेख गर्दै नदी तटीय क्षेत्रका बस्ती, घर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन तथा शैक्षिक संस्थामा समेत क्षति पुगेको बताउनुभएको छ।
भण्डारीले सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्न, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक राहत सामग्रीको तत्काल व्यवस्था गर्न सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ।
उहाँले तत्कालीन राहत र उद्धारसँगै विस्थापित परिवारको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने कार्यलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले बाढी घटनाले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको बढ्दो जोखिमलाई पुनः उजागर गरेको उल्लेख गर्दै जलवायु न्याय, अनुकूलन, पूर्वसूचना प्रणाली तथा जोखिम न्यूनीकरणका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँले सडक, पुल, जलविद्युत्, बस्ती तथा अन्य पूर्वाधार निर्माण गर्दा दीर्घकालीन वातावरणीय प्रभाव, विपद् जोखिम तथा जलवायु परिवर्तनका असरलाई विकास योजनाको अभिन्न आधार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले अहिलेको प्रमुख प्राथमिकता जीवनरक्षा र मानवीय उद्धार रहेको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई मानवीय एकता, सहयोग र सहकार्यका साथ प्रभावित नागरिकको साथमा उभिन आह्वान गर्नुभएको छ।


