अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनुभएको छ । ट्रम्पको यो टिप्पणी इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टपछि आएको हो ।

सामाजिक सञ्जाल ट्रुथ सोसलको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै सङ्ख्यामा प्लान्ट र कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकताअनुसार अमेरिकामा पठाइरहेको बताउनुभयो ।

सीबीएस न्युजका अनुसार अमेरिकाले ‘अपरेशन एपिक फ्युरी’ का क्रममा विशेषगरी आफ्नो आर्मी ट्याक्टिकल मिसाइल सिस्टम र प्रिसिजन स्ट्राइक मिसाइलको सबैजसो भण्डार प्रयोग गरेको थियो ।

सीबीएस न्युजका अनुसार अमेरिकासँग रहेका इन्टरसेप्टर मिसाइल र लामो दूरीका क्षेप्यास्त्रको मौज्दात निकै घटेको छ ।

यस्तै समाचार संस्था रोयटर्सले पनि यो अभियानमा अमेरिकाले आफ्ना सबैजसो लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

यसैबीच वाशिङ्टन पोस्टको हिजोको रिपोर्टअनुसार गएको हप्ता प्रेसिडेन्सियल रिट्रीट क्याम्प डेभिडमा ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथमाथि आक्रोश व्यक्त गर्नुभएको थियो ।

ट्रम्पले हेग्सेथसँग इरानसँगको सैन्य विकल्पलाई सीमित पार्ने खतरामा परेको चरम हतियारको कमीमा आफूलाई किन बहकाएको थियो भन्ने प्रश्नको जवाफ माग्नुभएको खबरमा उल्लेख छ ।

यी बयानहरू ‘चुहावट गर्नेहरू’ को खोजी भइरहेको र भेटिएपछि लामो अवधिको जेल सजाय गरिने ट्रम्पले सामाजिक सञ्जाल ट्रुथको पोस्टमार्फत चेतावनी दिनुभएको छ ।