सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भट्टद्वारा पदभार ग्रहण
काठमाण्डौ । सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. किसनदत्त भट्टले पदभार ग्रहण गर्नुभएको छ । पदबहालीसँगै उहाँले विश्वविद्यालयमा सुशासन, पारदर्शिता, शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयनमा अघि बढाउनु भएको छ ।
पदभार ग्रहणसँगै विश्वविद्यालय कार्यकारी परिषद्को २४ असारको निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा।डा। राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
त्यसैगरी, विश्वविद्यालय तथा यसका आङ्गिक क्याम्पसहरूको नाममा रहेको वा चलनभोगमा रहेको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन गर्न प्रा। यज्ञराज पाठकको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको छ ।
विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति व्यवस्थालाई थप पारदर्शी र व्यवस्थित बनाउन व्यवस्थापन संकायका डिन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्माण समिति पनि गठन गरिएको छ ।
यसैबीच, विश्वविद्यालयको भौतिक पूर्वाधार विस्तारलाई गति दिँदै मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि तथा कानून केन्द्रीय विभागका शैक्षिक एवं प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गर्ने प्रक्रिया सम्पन्न गरिएको विश्वविद्यालयले जनाएको छ ।

