‘सञ्चारशील कक्षाकोठा’ लोकार्पण, शिक्षण-सिकाइमा प्रभावकारी सञ्चार अपरिहार्य

काठमाण्डौ । शिक्षण सिकाइ प्रक्रियालाई परिणाममुखी बनाउन शिक्षक र विद्यार्थीबीच प्रभावकारी सञ्चार अपरिहार्य रहेको सञ्चारशास्त्री डा. रघु मैनालीले बताउनुभएको छ ।

शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको अडिटोरियम हलमा आयोजित ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तक लोकार्पण समारोह तथा ‘प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका’ विषयक मन्थन कार्यक्रममा बोल्दै उहाँले प्रभावकारी सञ्चारबिना शिक्षाले अपेक्षित उपलब्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

डा. मैनालीले भाषा, श्रम गर्ने क्षमता र सञ्चार गर्ने सीपले नै मानवलाई अन्य जीवभन्दा फरक र विशिष्ट बनाएको उल्लेख गर्दै शिक्षक र विद्यार्थीबीचको अर्थपूर्ण संवाद नै प्रभावकारी शिक्षण सिकाइको आधार भएको बताउनुभयो ।

कक्षाकोठालाई सिकाइको वास्तविक केन्द्रका रूपमा स्थापित गर्न शिक्षक र विद्यार्थीबीच निरन्तर अन्तरक्रिया आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ऊर्जाविहीन मेसिन र सञ्चारविहीन कक्षाकोठामा संरचना हुन्छ, उपस्थिति हुन्छ, तर प्रभावकारिता हुँदैन ।” शिक्षकको बोली, हाउभाउ, प्रस्तुती शैली र विद्यार्थीका प्रतिक्रिया तथा सहभागिताबीच हुने सशक्त अन्तरक्रियाले मात्र कक्षाकोठालाई जीवन्त र सिकाइमुखी बनाउन सक्ने उहाँको भनाइ थियो ।

साथै, शिक्षक प्रभावकारी सञ्चारकर्ता हुनुका साथै विद्यार्थीले सिकाइलाई कसरी ग्रहण गरिरहेका छन् भन्ने पक्षलाई पनि उत्तिकै महत्व दिनुपर्ने डा. मैनालीले बताउनुभयो ।

कार्यक्रममा ‘प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका’ विषयमा दुई अन्तरक्रियात्मक प्यानल छलफल समेत आयोजना भयो ।

हरिहर तिमिल्सिनाले सहजीकरण गर्नुभएको पहिलो प्यानल छलफलमा मेदिन लामिछाने, लक्ष्मण श्रेष्ठ, निम्मी बस्नेत र दिनेश थापाले कक्षाकोठामा प्रभावकारी सञ्चारको अभ्यास, विद्यार्थीका आवश्यकता र रुचिको पहिचान तथा सहभागितामूलक सिकाइ वातावरण निर्माणका उपायबारे छलफल गर्नुभयो । शिक्षकले विद्यार्थीलाई केवल जानकारी दिने नभई उनीहरूको विचार सुन्ने, प्रश्न गर्न प्रोत्साहित गर्ने र सिकाइ प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

त्यसैगरी, प्रा.डा. विद्यानाथ कोइरालाले सहजीकरण गर्नुभएको दोस्रो प्यानल छलफलमा प्रा.डा. प्रेम फ्याक, प्रा.डा. पेशल खनाल, डा. मीनाक्षी दाहाल र प्रा.डा. बालचन्द्र लुँइटेलले सञ्चारशील कक्षाकोठाको अवधारणा, शिक्षकले ध्यान दिनुपर्ने सञ्चार शैली, विद्यार्थीसँगको विश्वासपूर्ण सम्बन्ध, आलोचनात्मक सोचको विकास तथा डिजिटल माध्यमको प्रभावकारी प्रयोगबारे विचार व्यक्त गर्नुभयो ।

उहाँहरूले प्रविधि र एआइलाई शिक्षणको विकल्पका रूपमा नभइ, सिकाइलाई थप अन्तरक्रियात्मक र प्रभावकारी बनाउने माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

सिकाइ समूहका अध्यक्ष तथा सम्पादक सुदर्शन घिमिरेले शिक्षक र अभिभावकले बालबालिकाको कुरा पर्याप्त रूपमा नसुन्ने प्रवृत्तिका कारण उनीहरूबीच दूरी बढिरहेको टिप्पणी गर्नुभयो । उहाँले ‘सञ्चारशील कक्षाकोठाः रुपान्तरणकारी पठन-पाठनको आधारशिला’ पुस्तकलाई नेपालको पाठ्यक्रम तथा शिक्षण अभ्यासमा कम्यूनिकेसन पेडागोजीकोरूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।