कसैको पीडामा राजनीतिकरण नगर्न गृहमन्त्रीको आग्रह
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीतिकरण नगर्न सांसदलाई आग्रह गर्नुभएको छ । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री गुरुङले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई उपचारका लागि भारत पठाउन आफूहरूले धेरै मेहनत गरेको बताउनुभयो । मुखले मात्र बोलेर जनताको सेवा नहुने बताउनुहुँदै उहाँले फिल्डमै गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गृहमन्त्री गुरुङले आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा नभएको र देशको सेवा गर्न नै आएको प्रस्ट पार्नुभयो । नेपालीलाई उपचारका लागि भारत लैजान आफूहरूले अथक प्रयास गरे पनि चिकित्सकको सल्लाहबमोजिम नै उहाँलाई भारत नलगी वीर अस्पतालमा उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

