नेपाल सरकार र एडीबीबीच साढे १६ करोड डलर ऋण सम्झौता

काठमाण्डौ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुईवटा छुट्टाछुट्टै आयोजनाका लागि कुल १६ करोड ५० लाख (१६५ मिलियन) अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकको असार २२ गतेको विनिमयदर अनुसार उक्त सम्झौताको अमेरिकी डलर बराबर करिब २५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । अर्थ मन्त्रालयमा आज सोमबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कोश्वाले हस्ताक्षर गर्नुभयो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन गरिनेछ । यो रकम स्थानीय तहमा खानेपानी आपूर्ति र ढल व्यवस्थापनका लागि आवश्यक एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, लजिस्टिक्स तथा भन्सार सुधारको दोस्रो सम्झौताअन्तर्गत ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग लजिस्टिक्स सुधार कार्यक्रम– सबप्रोग्राम २’ का लागि ५० मिलियन अमेरिकी डलर प्राप्त हुनेछ । यो सहयोग नेपालले भन्सार कार्यप्रक्रिया र लजिष्टिक्स सेवाको आधुनिकीकरणमा गरेको सुधारबापत बजेटरी सहायताका रूपमा प्राप्त गरेको हो ।

हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी दिनमा यो साझेदारी अझ बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, एडीबीका अध्यक्ष मासातो कान्डाले नेपाल र बैंकबीचको ६ दशक लामो सहकार्यलाई स्मरण गर्दै नेपालका विद्यमान आन्तरिक र बाह्य आर्थिक चुनौतीहरूको सामना गर्न बैंक सँधै सहयोगी रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले नेपालका विकासका प्राथमिकता र बैंकका प्राथमिकताहरू एकै ठाउँमा रहेको उल्लेख गर्दै सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।