सात हजार मिटरका हिमाल चढेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने

काठमाण्डौ । सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ।

आज सोमबार राष्ट्रियसभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सात हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताउनुभयो ।

मन्त्री पौडेलले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताउनुभयो । सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उहाँको धारणा छ ।