इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिसह सहभागी

एजेन्सी ।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौँ मानिसहरू सहभागी भएका छन् ।

एक करोडभन्दा बढी मानिस तथा सयभन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका–इरानबीच सैन्य कारबाही नहुने र त्यसपछि वार्ता पुनः सुरु हुने बताउनु भएको छ ।

तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका–इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । अन्त्येष्टि जुलाई ९ मा खामेनीको गृह शहर मशहदमा समापन हुनेछ ।

गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको ज्यान गएको थियो । अमेरिका–इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोज्तबा घाइते हुनुभएको थियो । अहिले मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ ।

खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूहमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो । खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो ।