नेपाल शिक्षक महासङ्घ जिल्ला समिति काठमाडौं गठन
काठमाडौँ । नेपाल शिक्षक महासङ्घ जिल्ला समिति काठमाडौँ गठन भएको छ।
शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
काठमाडौँ जिल्लामा पहिलो पटक गठन भएको उक्त महासङ्घको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन हुनुभएको छ। यसअघि उहाँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगरको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो।
नवनिर्वाचित अध्यक्ष गुरागाईंले जिल्ला समितिको गठनसँगै काठमाडौँका शिक्षकहरूको हकहित, पेशागत एकता र महासङ्घका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अब छिट्टै नै जिल्लाका नगरस्तरीय महासङ्घहरूको गठन प्रक्रियालाई तीव्रता दिने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष हंसबहादुर शाहीले महासङ्घको विधान, संरचना र नीतिमा आमूल परिवर्तन गरी यसलाई आम शिक्षकको विश्वासको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दुई वर्षअघि सरकारसँग भएको ७ बुँदे सहमति अझै कार्यान्वयन नभएको भन्दै महासङ्घको केन्द्रीय नेतृत्वप्रति रोष प्रकट गर्नुभयो।
नेपाल शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको प्रमुख आतिथ्य तथा महासचिव तुलाबहादुर थापाको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न शिक्षक सङ्गठनका शीर्ष नेताहरूको उपस्थिति थियो।
नवगठित कार्यसमितिको पदाधिकारीहरू :
अध्यक्ष : गणेशप्रसाद गुरागाईं
सहअध्यक्ष : कृष्णराज कट्टेल
उपाध्यक्ष : वासुदेव खनाल
महिला उपाध्यक्ष: तारा अधिकारी
सचिव: नारायणप्रसाद गौतम
खुला सहसचिव: समुन्द्र तिमल्सिना
सहसचिव (अर्थ) : गोविन्दप्रसाद पौडेल
महिला सहसचिव: अनिता अधिकारी
संस्थागत सहसचिवहरू: दिवसबाबु पोखरेल र रामहरि ढकाल
कार्यसमितिमा अन्य १७ जना सदस्यहरू पनि सर्वसम्मत चयन हुनुभएको छ।
उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापा, नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीलगायत विभिन्न शिक्षक नेताहरूको सहभागिता रहेको थियो।

