संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ घरपरिवार विस्थापित

काठमाण्डौ। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढी पहिरोले ७ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सिलिचोङ–१ तल्लो तेन्छोङका ७ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुन्ती राईसहित परिवारका ५ जना, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको ६ जनाको परिवार विस्थापित भएको हो । त्यस्तै, सुकप्रसाद राईको ४ जनाको, मिरा राईको ५ जनाको, धनमान राईको ३ जनाको र अरुणसङ्गम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।

पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ । बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो । सिलिचोङ गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ ।

सिलिचोङ–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीका कारण दुई वटा विद्यालयमा क्षति पुगेपछि पठनपाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभयो । नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ ।

बाढी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो । उहाँका अनुसार सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।