मदन भण्डारी कलेजमा जब फेयर, करियर काउन्सिलिङ र फुड फेस्टिभलको रौनक
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा विद्यार्थीहरूलाई रोजगारीका अवसर, व्यावसायिक सीप तथा करियर विकाससँग जोड्ने उद्देश्यले ‘जब फेयर, करियर काउन्सिलिङ तथा फुड फेस्टिभल’ आयोजना गरिएको छ ।

कलेजको २५औँ वार्षिकोत्सवअन्तर्गत साताव्यापी कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको उक्त कार्यक्रम कलेजको जब प्लेसमेन्ट तथा इन्टर्नशीप कमिटीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने, इन्टर्नशीप तथा रोजगारीका अवसर उपलब्ध गराउने र भविष्यको करियर योजनाका लागि मार्गदर्शन प्रदान गर्ने रहेको छ ।

कलेज प्रमुख डा. बाबुराम अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकास गर्न, रोजगारीका अवसर पहिचान गर्न तथा आफ्नो करियर निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले शिक्षा केवल पाठ्यक्रममा सीमित नभई विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्नुपर्ने भएकाले कलेजले यस्ता रोजगारमुखी तथा सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका १६ वटा कम्पनी तथा संस्थाहरूको सहभागिता रहेको थियो । स्टिच पर्फेक्ट, घुम नेपाल इनोभेसन, नेपाल क्यान ग्रुप, एन अब्सेसन इन्टरनेसनल, प्योर अर्थ वेलनेस कम्पनी, भेनस हस्पिटल, भरोसा टेक्नोलोजी, यूएस खबर नेटवर्क, डिबग सफ्ट, म्याक्स इन्टरनेसनल, स्किल ल्याब, मिडिया कुराकानी, नेटवर्थ ट्याक्स नेटवर्क, देव ज्योति ग्रुप, फुडमान्डु लिमिटेड र कलम सञ्चारलगायत संस्थाहरूले करियर एक्स्पो, रिक्रुटमेन्ट सेसन, इन्टर्नशीप अवसर, रोजगारसम्बन्धी छलफल तथा व्यावसायिक नेटवर्किङ गतिविधि सञ्चालन गरेका थिए ।


करियर काउन्सिलिङ सेसनअन्तर्गत विद्यार्थीहरूले रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै रोजगारीका सम्भावना, आवश्यक सीप, रिजुमे लेखन, अन्तर्वार्ता तयारी तथा व्यावसायिक विकाससम्बन्धी जानकारी प्राप्त गरेका थिए ।
कार्यक्रमको अर्को आकर्षणका रूपमा रहेको फुड फेस्टिभलमा विद्यार्थीहरूले विभिन्न खानाका स्टलमार्फत आफ्नो सिर्जनशीलता, उद्यमशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए ।

कलेजले यस्ता गतिविधिले विद्यार्थीहरूलाई कक्षा कोठाको ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्न, आत्मनिर्भरता विकास गर्न र भविष्यका अवसरका लागि तयार हुन सहयोग पुग्ने जनाएको छ ।

