नेपालको सार्वभौमसत्ताको रक्षा गर्न जंगबहादुरको महत्त्वपूर्ण भूमिका छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १९ औँ शताब्दीको विश्वव्यापी औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । काठमाण्डौमा आज आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको कठिन परिस्थितिमा पनि नेपालले आफ्नो स्वतन्त्रता कायम राख्न सफल हुनुको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुरलाई जाने पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो । नेपाल–ब्रिटिस भारत सीमा व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरतामा ठूलो भूमिका खेलेको उहाँको भनाइ थियो ।

जंगबहादुरका कतिपय निर्णयहरू इतिहासमा विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गरिए पनि सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता पाउनु उहाँको शासनकालको विशिष्ट राष्ट्रिय उपलब्धि भएको पूर्वराष्ट्रपति भण्डारीले स्मरण गर्नुभयो ।

राज्य सञ्चालनलाई निश्चित नियम र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐन नेपालको पहिलो कानुनी संहिता भएको उल्लेख गर्दै उहाँले जंगबहादुरले कानुनी राज्यको जग बसालेको बताउनुभयो । यद्यपि, उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका पक्षहरू प्रतिबिम्बित भएकाले आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नभए पनि त्यसलाई सोही समयको सामाजिक चेतनाको स्तरका रूपमा बुझ्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । जंगबहादुरले तत्कालीन समाजमा जरो गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने जस्ता सामाजिक सुधारका प्रयासहरू पनि थालनी गरेको उहाँले उल्लेख गर्नुभयो ।

वर्तमान नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको सन्दर्भ जोड्दै पूर्वराष्ट्रपति भण्डारीले अब राष्ट्रियताको अवधारणा केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरहेको प्रष्ट पार्नुभयो । आजको राष्ट्रियता लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवर्द्धनसँग जोडिएको उहाँको भनाइ थियो ।

इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट शिक्षा लिँदै राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको मुख्य आधार हुनेमा पूर्वराष्ट्रपति भण्डारीले विशेष जोड दिनुभयो ।