रास्वपाको प्रथम महाधिवेशन आजदेखि सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन
चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा विशेष समारोहका बीच सुरु भएको उक्त महाधिवेशनको प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर उद्घाटन गर्नुभएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको छ । समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी भई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै हुनुहुन्छ।
रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता नरहेको आयोजकले जनाएको छ । रास्वपाको यस पहिलो महाधिवेशनले पार्टीको नयाँ नीति, मार्गचित्र र आगामी नेतृत्व चयन गर्ने बताइएको छ ।

