कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ ।  आज कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा  ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ । विशेष गरी बागमती प्रदेशदेखि पूर्वका भागमा वर्षा भएको हो ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई ठाउँमा भने ठूलो वर्षा हुन सक्ने पूर्वानुमान छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण पश्चिम तराई क्षेत्रको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ ।