मदन भण्डारी कलेजमा रोजगारमुखी ‘रिजुमे र मोक इन्टरभ्यू’ कार्यशाला आयोजना
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा आज ‘रिजुमे/सीभी लेखन तथा मोक इन्टरभ्यू’ सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
कलेजको प्लेसमेन्ट एन्ड इन्टरनसिप कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई रोजगार बजारमा आवश्यक पर्ने व्यवहारिक सीप विकास गराउने उद्देश्यका साथ रिजुमे/सीभी लेखन, इन्टरभ्यू ओरिएन्टेसन तथा मोक इन्टरभ्यू सञ्चालन गरिएको थियो ।
कार्यक्रममा इन्जिनियर दिनेश रिजाल, एचआर प्राक्टिसनर थोमस ढकाल तथा सामाजिक विज्ञानका विज्ञ ईश्वर लुइटेलले प्रशिक्षण गर्नुभएको थियो । कार्यशालामा सहभागी विद्यार्थीहरूलाई बजारमा प्रचलित आधुनिक ढाँचाको सीभी, रेजुमे लेखन, त्यसका आवश्यक पक्षहरू र अन्तर्वार्ताका लागि तयारी गर्ने विधिबारे सिकाइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कलेज प्रमुख डा. बाबुराम अधिकारीले कार्यशालाको विषय विद्यार्थीहरूको आवश्यकताको आधारमा चयन गरिएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञान राम्रो भए पनि व्यवहारिक पक्षमा केही कमजोरी देखिएको उल्लेख गर्दै त्यही अन्तर पूर्ति गर्न यस्तो कार्यक्रम आवश्यक भएको बताउनु भयो ।

डा. अधिकारीले विशेषगरी रिजुमे र सीभीबीचको भिन्नता, आधुनिक ढाँचामा संक्षिप्त र प्रभावकारी रिजुमे तयार गर्ने तरिका तथा इन्टरभ्यूमा आत्मविश्वासका साथ प्रस्तुत हुने सीप विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो शैलीका लामो रिजुमे अब प्रभावकारी नहुने भन्दै छोटो, स्पष्ट र बुलेट प्वाइन्टमा आधारित प्रस्तुतीकरण आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमअन्तर्गत समूहगत छलफल तथा मोक इन्टरभ्यू सत्र पनि सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले प्रत्यक्ष अभ्यासमार्फत अनुभव हासिल गरेका थिए । कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने आत्मविश्वास र व्यावहारिक ज्ञान प्रदान गरेको विश्वास गरिएको छ ।





