इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगेको ट्रम्पको दाबी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गर्नुभएको छ ।
उहाँले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध समाधानका लागि ठूलो सहमति भएको बताएको बीबीसीले जनाएको छ ।
तर, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौताबारे आएका समाचारहरूलाई ‘अटकलबाजी’ भन्दै कुनै अन्तिम निर्णय नभएको बताउनु भएको छ ।
ट्रम्पका अनुसार सम्भावित सम्झौतामा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता रहनेछ । आवश्यक कागजात अन्तिम चरणमा पुगेको र छिट्टै युरोपमा हस्ताक्षर हुन सक्ने उहाँले बताउनु भयो। ट्रम्पको सम्झौतासम्बन्धी अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ४।४ प्रतिशतले घटेको छ ।
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको थियो । इरानले पनि इजरायल र अमेरिकी सहयोगी मुलुकहरूलाई निशाना बनाउँदै प्रतिआक्रमण गरेको थियो । हालैका दिनहरूमा दुवै पक्षबीच पुनः आक्रमण–प्रत्याक्रमण भइरहेका छन् ।

