बिनाअनुमति सञ्चालीत अस्पताल काउन्सिलको कारबाहीमा

काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले काठमाण्डौको बालुवाटारस्थित मारिया हेल्थ सेन्टर प्रालिलाई कारबाही गरेको छ । स्थलगत अनुगमनका क्रममा बिनाअनुमति अस्पताल सञ्चालन गरिएको तथा विदेशी चिकित्सकबाट अवैध रूपमा स्वास्थ्य परीक्षण गराइएको पाइएको भन्दै काउन्सिलले कानुनी कारबाही प्रक्रिया अघि बढाएको हो ।

काउन्सिलका अनुसार अनुगमनका क्रममा आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न रहेका तीनजना चिनियाँ नागरिक चिकित्सक भेटिएको छ । उनीहरूको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ ।

संस्थाको बोर्डमा नाम राखी काउन्सिलको आचारसंहिता उल्लंघन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले उक्त संस्थालाई तत्काल भौतिक रूपमा बन्द गर्न तथा सञ्चालकहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला प्रहरी परिसर काठमाण्डौलाई पत्राचार समेत गरेको छ ।