विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै

एजेन्सी । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ ।

यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् । जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् । यस विश्वकपमा साविक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनीजस्ता बलिया टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन् ।

उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रंगशालामा घरेलु टिम र दक्षिण अफ्रिका खेल्नेछन् । नेपाली समयअनुसार यो खेल मध्यराति १२ : ४५ बजे सुरु हुनेछ ।

विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टिमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन् ।यसपटक विश्वको कुल जनसंख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ ।

१९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ ।