देशका धेरैजसो ठाउँमा आज र भोलि पनि पानी पर्ने
काठमाण्डौ । देशका धेरैजसो ठाउँमा आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको ६ घण्टामा सबैभन्दा बढी मधेश प्रदेशको बारामा ६३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ । हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो । यसै गरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाण्डौ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ ।
आज देशभर बदली भई कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ । भारतमा जुन ४ मा मनसुन प्रवेश गरेकाले नेपालमा पनि ३/४ दिनमै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ ।

