“तीन वर्षपछि युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने हो”: नवप्रवर्तनमन्त्री पुन
काठमाण्डौ । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज मङ्गलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण तयार गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । नयाँ मन्त्रालय भएकाले यसको संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै उहाँले शून्यबाट काम अगाडि बढाउने बताउनुभयो । उहाँले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले अब ओएनएम गरेर के कसरी अगाडि बढ्ने भन्ने कुरामा शून्यबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि रातदिन नभनी काम गर्ने र तीन वर्ष मन्त्री भएर काम गरेपछि नयाँ युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पार्नुभयो ।

