सुधन गुरुङ र महावीर पुनको शपथ अपराह्न साढे ४ बजे

काठमाण्डौ । राष्ट्रपतिको कार्यालयले मन्त्रीमा सिफारिस गरिएका दुईजनाको शपथको तयारी गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृहमा पुनः सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको हो ।

उहाँहरू दुवैजनाको शपथ आज अपराह्न ४ः३० मा गराउने तयारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । आज नै उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरिएको हो । उहाँहरूको शपथ यसअघि यसै दिन दिउँसो ३ बजे हुने भनिएको थियो ।

वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ । पुन भने तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री हुनुहुन्थ्यो ।