प्रा. डा. शर्मा र राष्ट्रिय आविष्कार केन्द्रसहित चारलाई ओली प्रतिष्ठानको सम्मान घोषणा

काठमाण्डौ । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले यस वर्षका विभिन्न राष्ट्रिय पुरस्कारहरू घोषणा गरेको छ । झापाको भद्रपुरस्थित प्रतिष्ठानले दुई–दुई व्यक्ति तथा संस्थालाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार जेठ ३० गते एक कार्यक्रमबीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी, ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ एग्रो मनाङ प्रालि र कृषिविज्ञ चुटराज गुरुङलाई संयुक्त रूपमा प्रदान गरिनेछ। उक्त पुरस्कारको राशि एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा आइतबार जारी विज्ञप्तिमा प्रतिष्ठानले हालसम्म विभिन्न विधामा दर्जनौँ व्यक्तित्वलाई सम्मान गर्दै आएको उल्लेख छ ।

हालसम्म श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कारबाट २ जना, रूद्रप्रसाद ओली कृषि पुरस्कारबाट ११ जना, गौरादेवी ओली आदर्श आमा पुरस्कारबाट १० जना, अम्बिकादेवी ओली साहित्य तथा पत्रकारिता पुरस्कारबाट १० जना तथा देवी ओली बाल पुरस्कारबाट ११ जना सम्मानित भइसकेका छन् ।