‘पुसमा पाक्या, माघमा खाए’, माघे सङ्क्रान्तिका १० महत्त्वपूर्ण पक्ष

काठमाण्डौ । माघे संक्रान्ति नेपाल र भारतका केही भागहरूमा मनाइने एक विशेष पर्व हो । नेपालमा माघे संक्रान्तिको सांस्कृतिक र धार्मिक दुवै महत्व रहेको छ । यस पर्वमा वाग्मती, देवघाट, गण्डक जस्ता नदीको संगमस्थलमा पवित्र स्नान गर्नाले पाप सफा हुने जनविश्वास रहेको छ ।

माघे सङ्क्रान्तिका दश महत्त्व यस प्रकार रहेका छन् :

१) धनु राशीबाट सूर्य मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकरसङ्क्रान्ति पनि भनिन्छ । यो दिनदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

२) नेपालमा पुसको अन्तिम दिन अर्थात २९ गते तरुल पकाएर माघमा खाने चलन छ । यसलाई ‘पुसमा पाक्या, माघमा खाए’ भन्ने गरिन्छ ।

३) आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान, ध्यान र दान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

४) तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

५) माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूल, तथा पालुङ्गो, खिचडी आदि खाने चलन छ । त्यस्तै शरीरमा तिलको तेलले मालिस गर्दा शरीर सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

६) माघे सङ्क्रान्तिका सांस्कृतिक एवम् जातिय विशेषता छन् । थारू समुदायमा माघी पर्वका रूपमा मनाउने यो पर्व उनीहरुले मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्छन् ।

७) थारू समुदायले यो पर्व बडो उत्साहका साथ मनाउछन् । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी अर्थात (माघी) खाने चलन छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर विभिन्न पेयपदार्थको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

८) नेपालका मगर जातिहरूबीच पनि माघे सङ्क्रान्तिलाई मुख्य पर्वको रूपमा धुमधामसंग मनाउने चलन छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ ।

९) माघे सङ्क्रान्तिलाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । यसदिन उनीहरुले अन्य समुदायले जस्तै टिका लगाउने, मिठो परिकार खाने, जमघट गरी सामूहिक काम गर्ने, नाँचगान गर्ने गर्दछन् ।

१०) यस पर्वले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । घरमा पाकेका पकवान परिवारजन तथा छरछिमेकमा बाढ्ने र कसैसँग रिसइबी भए माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघे सङ्क्रान्तिलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ । -सुप्रिया राई