मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाण्डौ ।  नेकपा एमालेले गएको भदौ २३ र २४ मा भएको घटना सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पूर्वाग्राही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ । एमालेले विज्ञप्तिमार्फत अदालत जानुअघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ २३ र २४ मा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ ।

लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सारसंक्षेपबीच भिन्नता हुन सक्ने आशङ्कासमेत विज्ञप्तिमा गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ । साथै, नयाँ कानून बनाएर के–के कारबाही गर्ने भन्ने पनि सिफारिस गरेको छ ।