पश्चिम एसियाबाट उद्धार र सहायताको लागि ८२ हजार बढीले नाम टिपाए

काठमाण्डौ । पश्चिम एसियामा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताको लागि आफ्नो नाम सरकारी वेब पोर्टलमा दर्ता गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दर्ता गराएकामध्य ६ हजारजतिले आफू असुरक्षित रहेको बताएका जानकारी दिनुभयो ।

पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीहरूले उद्धार र सहायताको लागि आफ्नो नाम दर्ता गरेका हुन् ।

अमेरिका र इजरायलले गत फागुन १६ गते इरानमाथि आक्रमण सुरु गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ । इरानले इजरायललगायत पश्चिम एसियाका साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, टर्कीलगायत देशमा रहेका अमेरिक सैन्य बेसहरूमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका छन् ।

पश्चिम एसियामा युद्ध चर्केपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले वेब पोर्टल बनाई सहायता र उद्धार चाहनेलाई आफ्नो नाम दर्ता गर्न भनेको थियो । सोही पोर्टलमा ८२ हजार १०० ले आफ्नो नाम दर्ता गरेका हुन् । पश्चिम एसियाका विभिन्न राष्ट्रमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।