मध्यपूर्व युद्ध : विश्वकै ठूला तेल तथा ग्यास उद्योग निशानामा
एजेन्सी । मध्यपूर्वमा युद्ध थप चर्किँदै गएको छ । इजरायल र इरानबीच एकअर्कामाथि आक्रमण गर्ने क्रम तीव्र रूपमा भइरहेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानतर्फ हिजो थप चार चरणमा मिसाइल प्रहार भएको छ । घटनाले क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता बढाएको छ । साउदी अरेबिया र बहराइनले आफ्नो आकाशमा आएका ड्रोनहरू अवरोध गरेर नष्ट गरेको बताएका छन् ।
इरानी अब्बास अराघचीले पूर्वाधारमा थप आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको साउथ पार्स ग्यास क्षेत्रमा इजरायलले एक्लै आक्रमण गरेको दाबी गर्नुभएको छ । यसमा अमेरिकी संलग्नता नरहेको उहाँको भनाइ छ ।
मध्यपूर्व युद्धले ऊर्जा क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ । कतारमा रहेको विश्वकै ठूलो ग्यास उद्योगमा भएको आक्रमणपछि बेलायत र युरोपमा ग्यासको मूल्य तीव्र रूपमा बढेको छ ।
यस्तै इरानले मध्यपूर्वभरिका ऊर्जा संरचनाहरूमा आक्रमण गरेपछि हिजो अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ११९ अमेरिकी डलरभन्दा माथि पुगेको थियो । इजरायलले आफ्नो साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले मध्यपूर्वभरिका ऊर्जा संरचनाहरूमा आक्रमण थालेको छ ।
विश्लेषकहरूकाअनुसार विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्रमा भएको आक्रमणले विश्व ऊर्जा आपूर्ति र मूल्यमा दीर्घकालीन असर पार्न सक्ने सम्भावना छ । विभिन्न देशहरूले तनाव कम गर्न कूटनीतिक प्रयास थालेका खबरमा उल्लेख छ ।

