कांग्रेस सभापति गगन थापाको राजीनामा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिनुभएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनुभएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनुभएको हो ।
यसअघि काठमाण्डौ-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँलाई रास्वपाका डा .अमरेशकुमार सिंहले पराजित गर्नुभएको थियो ।
रास्वपाले झण्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

