धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो ।

काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सरकारले धरहरा क्षेत्रको समग्र व्यवस्थापन तथा पार्किङ सञ्चालनको जिम्मा दिएपछि महानगरले निःशुल्क रूपमा पार्किङ सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । मन्त्रीपरिषद्को गत फागुन ९ गतेको बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाण्डौ महानगरपालिकालाई दिने निर्णय गरेको थियो ।

पार्किङमा राखिएका सवारीसाधनको सुरक्षाका लागि नगर प्रहरी बिहान ६ देखि बेलुका ८ बजेसम्म खटिने गरेको बताउँदै उहाँले भन्नुभयो, “सर्वसाधारणले बिहान ८ देखि बेलुका ५ बजेसम्म पार्किङ क्षेत्रमा सवारीसाधन प्रवेश गराउन पाउने व्यवस्था मिलाइएको छ । बेलुका ८ बजेसम्म पार्किङ गर्न पाइन्छ । त्यसपछि सवारीसाधन निकाल्नुपर्ने हुन्छ ।” उहाँका अनुसार धरहराको बेसमेन्ट पार्किङमा सात सय दुईपाङ्ग्रे र २६२ चारपाङ्ग्रे सवारीसाधन अटाउन सकिन्छ । चारपाङ्ग्रेका लागि दुई वटा बेसमेन्ट छुट्याइएको छ । एउटामा १२७ र अर्कोमा १३५ वटा सवारीसाधन अटाउँछन् ।

सवारीसाधनका लागि व्यवस्थापन पूरा भइसकेको बताउँदै उहाँले पार्किङ क्षेत्रमा महानगरले बिजुलीबत्ती, फायर एक्स्टिङ्विग्सर, सिसिटिभी क्यामरा, भेन्टिलेसनलगायतका उपकरण जडान भइसकेको जानकारी दिनुभयो ।