इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी केन्टको राजीनामा
एजेन्सी । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिनुभएको छ ।
ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै आफ्नो पदबाट राजीनामा दिनुभएको हो ।
केन्टले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गर्नुभएको छ ।
इरान अमेरिकाका लागि तत्काल खतरा नभएको पत्रमा उल्लेख छ । केन्टले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा इरानसँग युद्ध शुरू गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।
४५ वर्षीय केन्टलाई अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति मानिन्छ । उहाँकी श्रीमती शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’का रूपमा काम गर्नुभएको थियो ।
सन् २०१९ मा सिरियामा भएको आक्रमणमा उहाँ मारिनुभएको थियो । केन्टको राजीनामापछि राष्ट्रपति ट्रम्पले सुरक्षाका मामिलामा कमजोर भएको आरोप लगाउँदै उहाँको बहिर्गमन उचित भएको प्रतिक्रिया दिनुभएको छ ।

