समानुपातिक उम्मेदवार चयन र विधान संशोधनको लागि रास्वपा सचिवालय बैठक बस्दै
काठमाण्डौ। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकले समानुपातिक सांसद चयन र विधान संशोधन गर्ने रास्वपाको तयारी छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई भोलिसम्म उम्मेदवार छनोट गरी पेस गर्न अस्ति बिहीबार पत्राचार गरेको थियो । प्रत्यक्षतर्फ १ सय २५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ ।
आजको सचिवालय बैठकले समानुपातिक सांसद टुंगो लगाउने र विधान संशोधनको लागि सिफारिस गर्ने रास्वपाको तयारी छ । त्यसलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि संसदीय दलको नेता छानेर प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
रास्वपाको अहिलेको विधानमा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ । चुनावअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो । शाहलाई संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री चयन गर्ने प्रव्रिmयालाई समय सान्दर्भिक बनाउन रास्वपाले विद्यमान विधान परिवर्तन गर्न लागेको हो ।

