इरान युद्धका कारण ऊर्जाको मूल्य बढेपछि अमेरिकाले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो बनायो
एजेन्सी । अमेरिकाले ऊर्जा बजारमा अस्थिरता बढेपछि रसियाको प्रतिबन्धित तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यो निर्णय इरानविरुद्ध अमेरिका–इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको असर कम गर्नका लागि गरिएको हो ।
अमेरिकी ट्रेजरी विभागले समुद्रमा पहिले नै ढुवानीमा रहेको रुसी तेल तथा पेट्रोलियम खरिद गर्न देशहरूलाई अनुमति दिएको जनाएको छ । यो अनुमति ११ अप्रिलसम्म मात्र लागू हुनेछ । बेसन्टले यो कदम सीमित र छोटो अवधिको भएकाले रुसी सरकारलाई ठूलो आर्थिक फाइदा नहुने बताए ।
खाडी क्षेत्रमा जहाज तथा ऊर्जा पूर्वाधारमा भएका आक्रमण र महत्त्वपूर्ण जलमार्ग स्टेट अफ हर्मुजको लगभग बन्द भएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ । सामान्यतया विश्वको करिब २० प्रतिशत तेल यही जलमार्गबाट आवतजावत हुने गर्छ ।
यसैबीच तेलको मूल्य बढेर प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । शुक्रबार एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य करिब १००.२९ डलर प्रतिब्यारेल र अमेरिकी बजारको तेल ९५.४१ डलर आसपासमा कारोबार भएको छ ।

