एमाले कास्की इन्चार्ज कृष्ण थापाको ह्रदयघातका कारण निधन

काठमाण्डौ । एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवनमा रहेको जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा दिउँसो एक्कासि ढलेपछि उहाँलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । अस्पतालका अनुसार उहाँलाई ह्रदयघात भएको हो । कास्की–१ को चुनावको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उहाँ बेहोस हुनुभएको हो । यसपटकको प्रतिनिधि सभा चुनावमा पार्टीले उहाँलाई कास्की २ मा टिकट दिएको भोलिपल्टै खोसेर अर्कै उम्मेदवारलाई दिएको थियो ।

२०५४ सालमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । ०७९ सालमा उहाँ पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित हुनुभएको थियो ।