जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु : एमाले अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताउनुभएको छ ।

निर्वाचनको सम्पूर्ण परिणाम आएपछि सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको बताउनु भएको छ ।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उहाँले भन्नुभएको छ ।

निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको बताउनुभएको छ ।