रास्वपा सभापति रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ
काठमाण्डाै । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।
निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव अभियानका क्रममा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको विवरण पेश गरिसक्नुभएको छ ।
यसैगरी अरू केही उम्मेदवारले पनि आफ्नो चुनावी खर्च सम्बन्धित निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुभएको छ ।


