मध्यपूर्व युद्धको असर :ग्यास अभावले भारतका रेस्टुरेन्ट बन्द हुने जोखिम

एजेन्सी । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित भएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी निर्णयपछि देशभरका रेस्टुरेन्ट तथा होटल व्यवसायीले ग्यास आपूर्ति रोकिएपछि व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता हो भने खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि हो । भारतले प्रयोग गर्ने ग्यासको ठूलो हिस्सा मध्यपूर्वबाट आयात हुने गर्छ ।

पेट्रोलियम मन्त्रालयले आज जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखिएको हो ।

सरकारले घरपरिवार, यातायात क्षेत्र र एलपिजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिने निर्णय गरेको छ । यसबाहेक मल कारखाना र चिया उद्योगले उपलब्धताका आधारमा आफ्नो आवश्यकताको करिब ७० देखि ८० प्रतिशत मात्र ग्यास पाउनेछन् । आपूर्ति सन्तुलन मिलाउन पेट्रोकेमिकल उद्योग र विद्युत् उत्पादन केन्द्रमा दिइने ग्यास पूर्ण वा आंशिक रूपमा कटौती गरिने बताइएको छ ।

ग्यास आपूर्तिमा कटौती सुरु भइसकेको भन्दै केही भारतीय उद्योगले उत्पादन प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । विशेषगरी सिरेमिक र टाइल उत्पादन गर्ने कम्पनीहरूमा ग्यास अभावका कारण उत्पादनमा असर पर्ने देखिएको छ ।

यसैबीच घरपरिवारलाई एलपिजी आपूर्तिमा प्राथमिकता दिने अर्को सरकारी आदेश जारी भएपछि रेस्टुरेन्ट तथा होटल व्यवसायी थप चिन्तित बनेका छन् । भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनका अनुसार सरकारी निर्णयपछि एलपिजी आपूर्तिकर्ताले रेस्टुरेन्टहरूमा ग्यास आपूर्ति रोक्न सक्ने संकेत दिएका छन् ।

संस्थाका अनुसार अधिकांश रेस्टुरेन्ट सञ्चालनका लागि व्यावसायिक एलपिजीमा निर्भर रहने भएकाले आपूर्ति रोकिने अवस्था आए देशभरका धेरै व्यवसाय बन्द हुने जोखिम बढेको छ ।

दक्षिण भारतको प्रविधि केन्द्र बेङ्गलुरुका होटल उद्योग सङ्घका प्रमुख पी।सी। रावका अनुसार ग्यास आपूर्ति प्रभावित भइसकेको छ र धेरै साना रेस्टुरेन्ट तथा होटलमा एकदेखि दुई दिनका लागि मात्र ग्यास मौज्दात बाँकी छ । उहाँले परिस्थिति गम्भीर बन्दै गएको भन्दै धेरै प्रतिष्ठानले अब मेनु घटाउने वा परिवर्तन गर्नेबारे सोच्न थालेको बताउनुभयो ।