रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम – बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् ।

बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र त्यही ठाउँकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको ५ सय मिटर दूरीको अन्तरमा शव फेला परेको हो । उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।