गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना
काठमाण्डौ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
काठमाण्डौ उपत्यका र तराईका क्षेत्रमा भने बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ।
महाशाखाले सार्वजनिक गरेको पूर्वानुमान अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ।
बदलिँदो मौसम र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

