न्युजिल्यान्ड पराजित, भारतले तेस्रो पटक जित्यो टी–२० विश्वकपको उपाधि
काठमाण्डौ । न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो ।
टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो ।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।
न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेता बनेको छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराती टी–२० विश्वकप उपाधि जित्यो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलको उत्कृष्ट खेलाडी बनेका छन् ।

