१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : प्रत्यक्षतर्फ रास्वपाले १२० सिट जित्यो
काठमाण्डौ । गएको बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। ८ वटा क्षेत्रमा अझै मतगणना जारी छ भने धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई निर्वाचन आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन।
अन्तिम परिणाम घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जित्दै स्पष्ट अग्रता कायम गरेको छ। अहिले गणना भइरहेका क्षेत्रमध्ये रास्वपा ५ सिटमा अघि रहेको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यसपटक प्रत्यक्षतर्फ १७ सिट मात्र जितेको छ भने बाँकी गणना भइरहेका क्षेत्रमा कांग्रेस कतै पनि अघि छैन।
यसैगरी अघिल्लो निर्वाचनको दोस्रो ठूलो दल नेकपा (एमाले) ले यसपटक प्रत्यक्षतर्फ ७ सिट जितेको छ। गणना भइरहेका क्षेत्रमध्ये एमाले ३ सिटमा अग्रता बनाइरहेको छ। अघिल्लो निर्वाचनको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेकपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ। तर अहिले गणना भइरहेका क्षेत्रमा भने नेकपाको अग्रता देखिएको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लामा मात्रै एक सिट जितेको छ भने गणना भइरहेका अन्य क्षेत्रमा उसको अग्रता छैन। चार महिनाअघि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। तर बाँकी क्षेत्रको मतगणनामा उसले अग्रता कायम गर्न सकेको छैन। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ।
यसैबीच समानुपातिकतर्फको मतगणना पनि जारी छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४७ लाख ८९ हजारभन्दा बढी मत गणना भइसकेको छ। गनिएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार मत प्राप्त गर्दै अग्रता बनाएको छ। त्यस्तै नेपाली कांग्रेसले ७ लाख ९९ हजार, नेकपा (एमाले) ले ६ लाख ८२ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ७४ हजार मत प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीतर्फ सिट बाँडफाँट गर्न विशेष गणितीय सूत्र प्रयोग गरिन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएपछि मात्र सिट प्राप्त गर्न सक्छ। सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्नेछ।
हालसम्म ३ सिट जितेको श्रम संस्कृति पार्टीले भने समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत मत पुर्याएको देखिएको छैन।

