अझै तीन दिन बदली रहने सम्भावना, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने
काठमाण्डौ । देशका धेरैजसो क्षेत्रमा अझै तीन दिनसम्म मौसम पूर्ण रूपमा नखुल्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि मङ्गलवारसम्म आकाश बदली रहने सम्भावना छ।
मौसमविद् जन लामिछानेका अनुसार आज विशेषगरी बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मङ्गलवारसम्म देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने तथा केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
हाल देशको वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ भने पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना रहेको छ।
यस्तै कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

