पूर्वराष्ट्रपति भण्डारीद्वारा महिला दिवसको शुभकामना : नवनिर्वाचित सांसदहरूलाई बधाई
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै उहाँले महिला अधिकार र समानताको अभियानमा यो दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। महिला दिवसको सन्दर्भसँगै उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था र हालै सम्पन्न निर्वाचनका बारेमा पनि आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिबीच यही २०८२ फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको छ। निर्वाचनलाई सफल बनाउन भूमिका खेल्ने देहायका पक्षहरूलाई उहाँले विशेष धन्यवाद दिनुभएको छ ।
सम्पन्न निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई बधाई दिँदै पूर्वराष्ट्रपतिले उहाँहरूको कार्यकालको सफलताको कामना गर्नुभएको छ। उहाँले नवनिर्वाचित प्रतिनिधिहरू राष्ट्रको सर्वोपरि हितमा समर्पित भई कार्य गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।


