४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा ३५ क्षेत्रमा विजयी
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ३५ क्षेत्रमा जित हासिल गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ६, नेकपा एमालेले २, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २ तथा स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेका छन्। मतगणना जारी रहेका धेरै स्थानमा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेको जनाइएको छ।
रास्वपाबाट गुल्मी–२ मा गोविन्द पन्थी, पर्सा–२ मा सुशीलकुमार कानु, नुवाकोट–२ मा अचुत्तम लामिछाने, बारा–४ मा रहबर अन्सारी, कैलाली–१ मा कोमल ज्ञवाली, बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी भएका छन्।
त्यस्तै ललितपुर–१ मा बुद्धरत्न महर्जन, रुपन्देही–३ मा डा। लेखजंग थापा, रुपन्देही–२ मा सुलभ खरेल, पर्सा–१ मा बुद्धिप्रसाद पन्त, पर्वतमा सागर भुसाल, बारा–३ मा अरबिन्द साह र चितवन–२ मा रवि लामिछाने विजयी भएका छन्।
भक्तपुर–१ मा रुकेश रन्जित, काठमाण्डौ–२ मा सुनिल केसी, महोत्तरी–१ मा प्रमोदकुमार महतो, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनारले जित हासिल गरेका छन्।
यसैगरी रुपन्देही–४ मा कन्हैया बनिया, मोरङ–६ मा रुविना आचार्य, काठमाण्डौ–९ मा डीपी अर्याल, धनुषा–३ मा मनिष झा, मोरङ–४ मा सन्तोष राजवंशी र कास्की–३ मा बिना गुरुङ विजयी भएका छन्।
काठमाण्डौ–१० मा प्रदीप बिष्ट, कास्की–२ मा उत्तमप्रसाद पौडेल, काठमाण्डौ–५ मा सस्मित पोखरेल, काठमाण्डौ–४ मा पुकार बम, काठमाण्डौ–७ मा गणेश पराजुली, काठमाण्डौ–३ मा राजुनाथ पाण्डे, काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ, काठमाण्डौ–६ मा शिशिर खनाल र काठमाण्डौ–१ मा रञ्जु न्यौपाने (दर्शना) विजयी भएका छन्।
नेपाली कांग्रेसबाट डोटीमा भरतबहादुर खड्का, तेह्रथुममा सन्तोष सुब्बा, दैलेख–१ मा बासना थापा, रसुवामा मोहन आचार्य, मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन्।
नेकपा एमालेबाट बझाङमा ऐनबहादुर महर र बाँके–२ मा मोहम्मद इस्तियाक राई विजयी भएका छन्।
त्यस्तै नेकपाबाट कालिकोटमा महेन्द्रबहादुर शाही र रुकुमपूर्वमा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। स्वतन्त्रतर्फ म्याग्दीबाट महावीर पुन निर्वाचित भएका छन्। उहाँले २२ हजार ८५० मत प्राप्त गरी विजय हासिल गरेका हुन्।

