भूमिलाई सम्झँदै उधौली पर्व मनाइँदै : धान्य पूर्णिमा र योमरी पुन्ही पनि आजै
काठमाण्डौ । किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासकासाथ मनाइँदैछ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा उधौली पर्व मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ ।
खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत भेषभूषा लगाएर सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्यसहित विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् ।
उधौलीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलयायतले शुभकामना दिनुभएको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै मंसिर पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ ।
मङ्सिरमा धान भित्र्याएपछि पूर्णिमामा धान, गणेश, कूलदेवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवअन्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत ठाउँमासमेत मेला लाग्ने गर्दछ ।
यस्तै, नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । यो पर्वलाई खाद्य पदार्थको रसिलो पर्वका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।