जलवायु परिवर्तन र यसका दीर्घकालीन असरहरु

जलवायु भन्नाले कुनैपनि क्षेत्रको दीर्घकालीन मौसम ढाँचा हो, जसको औसत आयू ३० वर्ष वा सोभन्दा बढीको हुने गर्दछ । मौसम प्रत्येक घण्टा, दिन, महिना वा वर्षमा परिवर्तन हुन सक्छ । सोहीअनुरुप जलवायुको समग्र वातावरणमा सकारात्मक एवम् नकारात्मक दुवै किसिमका असर हुन्छ । तसर्थ यसले हरेक जैवीक प्राणीको अस्तित्वमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

पछिल्लो समय विकरालरुप लिँदै गरेको समस्या हो जलवायू परिवर्तन । विश्वका धनी अनि पूर्वाधारयुक्त देशहरु जस्तै; अमेरिका, अष्ट्रेलिया, क्यानडा, यूरोप, चीन, जापानलगायतले जलवायू परिवर्तनसँग लड्न सकेपनि नेपाल, भुटान, अफगानिस्तान, मंगोलिया, चाडलगायतका भूपरिवेष्ठित र अर्थतन्त्रकमजोर भएका राष्ट्रहरुले भने जलवायू परिवर्तनको भारी मूल्य चुकाउन परिरहेको छ ।

सामान्य भाषामा भन्नुपर्दा जलवायू परिवर्तनले विश्वव्यापी औसत तापक्रममा निरन्तर वृद्धि र पृथ्वीको जलवायु प्रणालीमा यसको प्रभावलाई वर्णन गर्दछ । त्यस्तै, संयुक्त राष्ट्रसंघ (यूएन) को परिभाषाअनुसार पनि जलवायु परिवर्तन भन्नाले तापमान र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तनलाई जनाउँछ । सूर्यको गतिविधि वा ठूला ज्वालामुखी विस्फोटका कारणले गर्दा यस्ता परिवर्तनहरू प्राकृतिक हुन सक्छन् । तर सन् १८०० यता मानव गतिविधिहरू जलवायु परिवर्तनको मुख्य चालक भएको छ । मुख्य रूपमा कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धनहरू जलाउनुले कार्बन–डाइअक्साइड उत्सर्जन गराउँदै आएको छ ।

कार्बन–डाइअक्साइड र अन्य हरितगृह ग्यासले पृथ्वीको तापक्रम बढाउँछ, जसले हाम्रो पृथ्वीको जलवायुमा नकारात्मक प्रभावहरू त पारेका छन् नै साथमा प्रतिकूल मौसम, बढ्दो समुद्री सतह, रोग, जैविक विविधताको क्षति, खडेरी, पानीको अभाव, भूक्षय, हिउँ पग्लनु र गरिबीको चक्रीय संकट सिर्जना हुनुमा पनि यसले भूमिका खेल्दछ । खनिज इन्धनको बढ्दो प्रयोग तथा वन विनाश जस्ता मानवजन्य क्रियाकलापले हरितगृह ग्यास उत्सर्जनमा बढावा मिलेको छ ।

जलवायुमा सधैँ प्राकृतिक फेरबदल भइरहेको हुन्छ तर अहिले मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम झनै बढिरहेको छ । जलवायु परिवर्तनको बेवास्तागरी ठूला आयोजना बनाउने निर्माण व्यवसायीहरुको कार्य भविष्यमा मानवलाई मात्रै नभई सम्पूर्ण प्राणी जगतलाई नै घातक हुने वैज्ञानीकहरुले चेतावनी दिदैँ आएका छन् । मानिसहरूले उद्योग, कलकारखाना र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ । यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक ‘ग्रीनहाउस ग्यास’ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन् । र अन्ततःविश्वको औसत तापमान बढ्दो छ ।

बिबिसीका अनुसार पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा, उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ । ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण भनेको वनविनाश हो । जब रुखहरू काटिन्छन् वा बालिन्छन् तब वायुमण्डलमा त्यसले बढी कार्बन–डाइअक्साइड छोड्न सक्छ ।

वैज्ञानीकहरुका अनुसार वासस्थान परिवर्तन भएपछि केही जनावरहरू नयाँ स्थानमा जानेछन् । तर जलवायु परिवर्तनको गतिका कारण धेरै जीवहरुको लोप हुने अवस्था सिर्जना हुनेछ । जसले क्रमशः उनीहरुलाई बाँच्न, उनीहरुको प्रजनन दर कम गर्न र भौगोलिक क्षेत्रहरूमा जनसंख्या वा प्रजातिहरूको वितरणमा ह्रास ल्याउन सक्छ । उदाहरणका लागि हिउँ पग्लिएपछि ध्रुवीय भालुहरू, नदीका पानीको तापक्रम बढेपछि माछाहरू, विभिन्न जीव र तिनीहरूको स्थानीय वातावरण बीचको सन्तुलनमा बाधा पुर्‍याउन सक्छ र लोप हुन सक्छन् । समुद्रमा कार्बन डाईअक्साइडको मात्रा बढेपछि पानी अम्लीय हुने र त्यसले ‘कोरल रीफ’हरू हराउन सक्नेछन् ।

वैज्ञानिकहरूले १.५ डिग्री सेल्सिअससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि असुरक्षित हुने बताएका छन् । त्योभन्दा वृद्धि भए प्राकृतिक वातावरणमा खतरनाक परिवर्तनहरू आउने र त्यसले मानव जीवन बदल्ने उनीहरू बताउँछन् । धेरै वैज्ञानिकहरूको अनुमानमा यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सिअससम्म बढ्न सक्छ जुन पृथ्वीवासी सम्पूर्णका लागि खतराको घण्टी हो ।

जलवायू परिवर्तनको असर विश्वभर फरक–फरक हुने अध्ययनहरुले देखाएका छन् । अति विकशित राष्ट्रहरु पनि यसको मारमा पर्नेछन् । यूकेजस्ता देश अतिवृष्टिका कारण बाढीको जोखिममा हुनेछ । समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने छन् । त्यसको प्रत्यक्ष असर माल्दिभ्स जस्तो टापु राष्ट्रमा पनि पर्न जान्छ । थुप्रै अफ्रिकी देशहरूमा खडेरी र खाद्य अभाव हुने छ । उत्तर अमेरिकी महादेशको पश्चिम अमेरिकामा खडेरीको सम्भावना हुनेछ भने अन्यत्र अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन्, । अस्ट्रेलियामा चरम गर्मी र खडेरी देखिने छ जुन उसले अहिले पनि भोगिरहेको छ ।

नेपाल जलवायु परिवर्तनको प्रभावले उच्च जोखिममा छ र एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनले नेपालले सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण वार्षिक जीडीपीको २.२% गुमाउने जनाएको छ । नेपाल भौगोलिक र सामाजिक दृष्टिकोणबाट पनि जलवायु सम्बन्धी प्रकोपहरूबाट संवेदनशील छ । प्राकृतिक प्रकोपसँग लड्नका लागि प्रभावकारी प्रतिक्रिया संयन्त्र र रणनीतिहरूमा कमजोरीले यसबाट हुने जोखिमलाई झनै पश्रय मिलेको छ । हालैका वर्षहरूमा देशैभर माटोको क्षय, पहिरो, बाढी र खडेरीमा भएको बृद्धिको तीव्रता र साथ रिपोर्ट गरिएको छ ।

यी प्रभावहरूलाई न्यूनीकरण गर्न सरकारी तथा गैर सरकारी सस्ंथा, जनस्तर र अन्तर्राष्ट्रिय समुदायबीच समन्वयात्मक प्रयास आवश्यक छ । परिवर्तनको महासन्धिमा संयुक्त राष्ट्र संघको फ्रेमवर्क (यूएनएफसिसिसि) को पक्ष राष्ट्र हो र २१औं बैठकमा पारित भएपछि यसले पेरिस सम्झौतालाई अनुमोदन गरेको हो । तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विश्वव्यापी उद्देश्यका साथ नेपालले पनि जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइमा हस्ताक्षर गरेको छ ।

सन् २०१६ मा, पेरिस सम्झौताको धारा ३ बमोजिम, नेपालले नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोग र जलवायु परिवर्तन अनुकूलनलाई बढावा दिन राष्ट्रिय निर्धारित योगदान (एनसडीसी) प्रतिबद्धताहरू गरेको थियो । यद्यपि, सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू गरे पनि (यूएनएफसिसिसि) र पेरिस सम्झौताको उद्देश्यअनुसार जलवायु परिवर्तनलाई सम्बोधन गर्न ढिलाइ गरिरहेको छ । सरकारको यो निष्क्रियताले नागरिकहरूलाई देशमा जलवायु परिवर्तनको प्रभावबारे चेतना जगाउन ढिला हुन अगावै जलवायु सम्बन्धि र राजनीतिक जवाफदेहिताको वकालत गर्न रचनात्मक कदमहरू चाल्न प्रेरित गरिनैपर्छ ।

नेपालजस्तो हिमाली राष्ट्रको हकमा तापक्रम थोरै मात्र बढ्दा पनि यसले भयावह अवस्था सिर्जना हुनसक्छ । हालैका वर्षहरूमा देशले बाढी, पहिरो, मनसुन, डढेलो, पिउने पानीको अभाव, खाद्यान्न अभाव र द्रुत रूपमा परिवर्तन हुने पारिस्थितिक प्रणालीको सामना गरिरहेको छ जसले नेपालीहरूको जीवन र जीविकोपार्जनमा समस्या थपेको छ । जलवायु परिवर्तनले नेपालको जनसङ्ख्यामा विशेष गरी ग्रामीण र सीमान्तकृत समूहहरूमा अनगिन्ती परिणामहरू ल्याउनेछ र यसले आर्थिक, सामाजिक र स्वास्थ्य समस्याहरू झनै निम्त्याउन सक्छ । यसको पछिल्लो उदाहरणस्वरुप यो वर्ष साउनमा मुस्ताङको कागबेनीमा काग खोलामा आएको बाढीलाई लिन सकिन्छ । मनाङ र मुस्ताङ दुवैलाई हिमालपारिका जिल्ला भनिन्छ र ती ठाउँमा यस्ता विनाशकारी बाढी अलि अनपेक्षित मानिन्छ किनभने ती ठाउँ रेन श्याडो वा कम वर्षा हुने क्षेत्र हुन् । त्यस्तै, मेलम्चीमा आएको गेग्रान सहितको भेल पनि जलवायु परिवर्तनका कारण निम्तिएको विज्ञहरुले बताउने गरेका छन् ।

अब नेपालको स्पष्ट नीति जलवायु परिवर्तनले गरेका हानी नोक्शानी वित्तको बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा रहन्ुपर्छ । बदलिँदो परिस्थितिसँग जुध्ने र जलवायु परिवर्तनसँग अनुकूलनका लागि लचिलोपन क्षमता निर्माण गर्ने नेपालको प्रयास जारीे छ । कुनैपनि समुदाय, क्षेत्र वा प्राणीहरुको अस्तितव नै सकंटमा परिरहेको छ भने त्यसको लागि जनता, सरकार र सम्बन्धित निकायले सामूहिक रूपमा काम गर्नुपर्छ । साथै, नेपाल र नेपालजस्तै जलवायु परिवर्तनको जोखिममा रहेका अन्य देशहरुको हितमा नेपालले वकालत गर्न सक्नुपर्छ ।