
नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित ५ जना पदाधिकारी बर्खास्त
काठमाण्डौ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाज महासङ्घ (आईएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित ५ जना पदाधिकारीलाई बर्खास्त गरेको छ ।
अन्तर्राष्ट्र्रिय मान्यता विपरीत काम गरेको आरोपमा आईएफआरसीले रेडक्रस नेपालका सभापति सुदर्शनप्रसाद नेपाल, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सदस्य नारायण तिमिल्सिनालाई पदबाट बर्खास्त गरेको हो । उनीहरूलाई अब आउँदा दिनमा हुने चुनावमा समेत भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको आईएफआरसीले जनाएको छ ।
लामो समय विवादमा परेको रेडक्रसको गएको चुनावमा यी ५ जना पदाधिकारीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन गरी भागबन्डा गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए । त्यही प्रमाणका आधारमा आईएफआरसीले रेडक्रसको निष्पक्षता र स्वतन्त्रताजस्ता अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन भएको भन्दै यी पदाधिकारीहरूलाई पदबाट बर्खास्त गरिएको जनाएको छ ।
आईएफआरसीले अन्य पदाधिकारीहरूका सम्बन्धमा पनि छानबिन गरिरहेको र उनीहरूलाई पनि कारबाही हुनसक्ने जनाएको छ ।